Loading...

Monday, December 19, 2016

पैसा कमाउने सपना बोकेर कतार गएकी युवतीको रहस्यमय मृत्यु, शव अलपत्र !

काठमाडौं– डेढ वर्षअघि कतार पुगेकी दोलखा, लापिलाङ गाविसकी विन्दु थामीको रहस्यम मृत्यु भएको छ ।
२८ वर्षीय विन्दु कतारस्थित ‘एफ.एम.एम.’ नामक कम्पनीमा क्लिनरको काम गर्दै आएकी थिइन् ।
गत मङ्सिर २४ गते दिदीको रहस्यमय मृत्यु भएको खबर आएको जानकारी दिँदै भाइ गाविन्द थामीले रातोपाटीसँग भने, ‘दुई हप्ता भइसक्यो शव कतारमै अलपत्र छ, हाम्रो पहुँच नभएकाले स्वदेश ल्याउन कुनै पहल हुन सकेको छैन ।’
कतारको दोहास्थित आफू बस्ने घरको तेस्रो तलामा उनलाई मृत अवस्थामा भेटिएको भन्दै कतारबाट अप्सरा रायमाझीले विन्दुको परिवालाई खबर गरेकी थिइन् ।
गोविन्दका अनुसार विन्दुसँग उनका साथीहरु सिन्धुपाल्चोककी सुशीला बुढाथोकी र अप्सरा रायमाझी सँगै बस्दै आएका थिए ।
दोलखा सुष्पाक्षमावती माइती भएकी सुशीला बुढाथोकी र विन्दुको बीचमा भएको विवादका कारण उनको हत्या भएको परिवारले दाबी गरेका छन् ।
‘दिदी र सुशीलाका बीचमा विवाद भएको रहेछ, सुशीलाले मेरी दिदीको मोबाइल फुटाइदिएको कुरा अप्सरा रायमाझीले मलाई फोनमा बताएकी थिइन्’ गोविन्दले भने, ‘त्यस्तो विवाद भएको भोलिपल्ट दिदीको शव बाथरुममा भेटियो ।’
घटनाको सत्यतथ्य छानविन गर्न, दोषीलाई कारवाहीको दायरामा ल्याउन, शव स्वदेश फर्काउन र उचित क्षतिपूर्तिको व्यवस्थाका लागि मेनपावर, वैदेशिक रोजगार विभागलगायतका निकायमा गए पनि कुनै सुनुवाइ नभएको गोविन्दले बताए ।
मृतकको शव दोहास्थित एक अस्पतालमा रहेको र त्यहाँको प्रहरीले घटनाबारे छानविन गरिरहेको बताइएको छ ।
मृतकका आफन्तजनले भने एकपक्षीय रुपमा घटनाको छानविन गराएर घटनालाई आत्माहत्या बनाई दोषीलाई उन्मुक्ति दिने र पीडित परिवारलाई क्षतिपूर्ति नदिलाउने चलखेल भइरहेको बताएका छन् ।
कतारमै रहेका मृतकका दाइ सपुन थामीले मृतकको शरीरमा चोटपटक र निलडाम रहेको र सुशीलासँगको विवाद नै हत्याको कारण भएको बताएका छन् ।
विन्दु थामी काठमाडौँको धापासीमा रहेको एसओएस मेनपावर मार्फत कतार पुगेकी थिइन् ।
@ratopati.com

No comments:

Post a Comment